काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लगानी सम्मेलनको तयारीमा जुट्न नेपाली विदेशस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका छन्।
मन्त्री ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दूतावासलाई निर्देशन दिइएको जानकारी समितिलाई दिएका हुन्। सोमबार संघीय संसद अन्तर्रगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सम्मेलनबाट नेपाल बाह्य लगानी नेपालमा भित्रयाउन सफल हुने विश्वास व्यक्त गरे।
सरकारले आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ। मन्त्री ज्ञवालीले भने, ‘चैत १५ र १६ गते आयोजना हुने नेपाल लगानी सम्मेलनको आवश्यक तयारी गर्न सरकारले विदेशस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ।’
समितिमा बोल्दै मन्त्री ज्ञवालीले राजदूतहरूको नियुक्ति संविधान सम्मत ढंगले अघि बढेको मन्त्री ज्ञवालीले दाबी गरे। राजदूत फिर्ता गर्ने काममा सरकारले कहीँ कतै राजनीतिक पूर्वाग्रह नराखेको समेत उनको जिकिर थियो। सरकारले पछिल्लो समय इजरायल, स्पेन, दक्षिण कोरिया र बंलादेशबाट राजदूत र्फिता बोलाएको छ। पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई सरकारले र्फिता बोलाउने निर्णय गरेको हो। राजदुत नियुक्तिमा उमेर हद तोक्ने विषयमा भने सरकार छलफल गर्न तयार रहेको पनि उनले स्पष्ट पारे।
यो पनि पढ्नुहोस्ः राजदूत सिफारिस भएका आचार्यलाई उमेर हदको पासो
यसअघि सरकारले भारतका लागि निलाम्बर आर्चायलाई राजदूत सिफारिस गर्दा सत्तारूढ दल नेकपाका केही नेताले असन्तुष्टि जनाएका थिए। भारतजस्तो महत्वपूर्ण देशमा राजदूत नियुक्ति गर्दा सरकारले उमेरलाई ख्याल नगरेकाले असन्तुष्टि चुलिएको थियो।
यस्तै ज्ञवालीले राजदुत नियुक्तिलाई समावेशी बनाउन पनि सरकार प्रतिबद्ध रहेको बताए। बैठकमा समितिका सदस्यहरुले राजदूत नियुक्ति समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका थिए।
मन्त्री ज्ञवालीले नेपालले सबै मुलुकहरुसँग मित्रवत् सम्बन्ध विकास गर्ने नीति लिएको दोहोर्याए। नेपालले हालसम्म १ सय ६३ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।
ज्ञवालीले कूटनीतिक सम्बन्धलाई पारदर्शी बनाउन सरकार सचेत रहेको पनि प्रष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।