काठमाडौं- नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन्।
अधिकारीलाई सरकार बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रबन्ध पदमा नियुक्ति गरेको थियो। सो लगत्तै अधिकारीले सोमबारदेखि नेपाल टेलिकमको प्रबन्ध निर्देशक कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहणपणपछि अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरेका थिए। काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने उनले बताएका थिए।
परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने बताए।
त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धता गरे।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, आधिकारिक ट्रेड युनियनलगायत विभिन्न कम्पनीमा आवद्ध कर्मचारीहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।