काठमाडौं– पानीजहाजको टिकट खोज्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य रहन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा लिएका बताए।
'मैले स्मरण गरिरहेको छु, कुनै समय पानीजहाजको कुरा गर्दा कागजका ढुंगा फ्याँकियो। रेलका चर्चा गर्दा रित्ता बाल्टिन लाइनमा राखी कुरा काटियो। कहिले गुडिया रेल लिएर खेलाइयो। अहिले पनि सुनेको छु, जहाजको टिकट काटौं भनेको काउन्टर खै?', प्रश्न गर्दै उनले भने, 'हिजो नपत्याउनेहरु समेत आज अब त हुन्छ भन्ने विश्वास भएछ र कमसेकम टिकट काट्ने ठाउँ खोज्न थाल्नुभएछ।'
प्रधानमन्त्रीज्यू, पानीजहाजको टिकट कहाँ पाइन्छ?
गत असार १४ गतेको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान निम्ता दिएका थिए। तर, सो मितिमा पानीजहाज नचलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता तथा प्रतिपक्षी दलका नेताहरुले टिकट कहाँ पाइन्छ भनेर प्रधानमन्त्रीलाई सोधेका थिए।
प्रधानमन्त्रीले संसदमार्फत त्यसैको जवाफ दिएका हुन्। 'मेरो सुझाब छ, धैर्य गरौं। रेल आउँछ, पानीजहाज पनि आउँछ। टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ। त्यसको सूचना पनि हुन्छ। म साथीहरुलाई ढुक्क रहन आग्रह गर्न चाहन्छु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।