काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन्।
मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि उनले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्म देखिने परिणाम निकालिने बताए । भुसालले प्राधिकरणमा भइरहेका कामलाई द्रुत गतिमा अगाडि बढाउने बताउँदै भूकम्प प्रभावितका घर र ऐतिहासिक सम्पदाको पुनःनिर्माणलाई एकसाथ अगाडि बढाउने योजना रहेको सुनाए।
‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु, भूकम्पपीडितको घर निर्माण सम्पन्न गराई मुहारमा खुशी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ’, उनले भने।
यसअघि अर्थसचिवबाट सेवानिवृत्त भुसालले विभिन्न मन्त्रालयमा अनुभव सँगालेका छन् । अर्थसचिवबाट सेवानिवृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक नियुक्त भएका थिए । २०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसालले २०४३ सालमा सहायक सचिव हुँदै २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरे।
२०५४ सालमा सहसचिव भएपछि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा एक वर्ष, अर्थ मन्त्रालको बजेट महाशाखामा चार वर्ष र परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाली महावाणिज्य दूतावास कोलकातामा तीन वर्ष महावाणिज्यदूत भई काम गरेको अनुभव उनीसँग छ ।
२०६५ सालमा सचिव बनेका भुसालले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनःसंरचना आयोग, वन तथा भूसंरक्षण र अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा काम गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।