वासिङ्टन– संयुक्त राज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा ३ लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ।
केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन्।
चीनसँगको व्यापार युद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ।
अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारको सङ्केत देखिएको छ। अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ। अघिल्लो वर्षको तुलनामा प्रतिघन्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ।
श्रम विभागको नयाँ तथ्यांक सार्वजनिक भएलगत्तै सेयर बजारमा पनि सुधार आएको छ। अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता सुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ। अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्ने बारे बैंकले केही लचक नीति लिने बताएपछि पनि बजारमा सकारात्मक वातावरण बनेको छ।
डाउजोन्स औद्योगिक परिसूचक ७४७ विन्दु अर्थात ३ दशमलब ३ प्रतिशतले बढेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै रोजगारीको संख्या वृद्धिको प्रशंसा गरेका छन्।
रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गरेको छ।
गत महिना स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा नयाँ ८२ हजार रोजगारी थपिएको थियो। विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो। रेष्टुराँ व्यवसायमा ४० हजार ७ सय नयाँ रोजगारी थपिएको छ। निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सृजना भएको छ।
व्यवसायीहरुले पनि बढी कामदारको माग गरिरहेका छन्।
श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सृजना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थप भएको छ।
गत वर्ष डिसेम्बरमा करिब ६३ लाख मानिसले रोजगारीका लागि निवेदन दिएको पाइएको थियो। अघिल्लो वर्षको यही महिना करिब ६५ लाख मानिसले रोजगारीको खोजी गरेका थिए। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।