काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रमा बहालवाला मन्त्री र पूर्वमन्त्रीको भिडन्त हुने भएको छ।
क्षेत्र नम्बर १ मा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री अग्नि सापकोटा मैदानमा आमनेसामने भएका हुन्।
२०७० को संविधानसभा निर्वाचनमा विजयी हुँदै सञ्चारमन्त्री भएका बस्नेतलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने माओवादीका नेता सापकोटालाई निर्वाचन जित्दै वाम एकतामा आफ्नो नयाँ छवि कायम गर्नुपर्नेछ।
यसअघि तीन निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा २०७० को चुनावमा १ नम्बरबाट कांग्रेसका मोहनबहादुर बस्नेतले जितेका थिए। क्षेत्र नम्बर २ बाट माओवादीका अग्नि सापकोटा र क्षेत्र नम्बर ३ बाट एमालेका शेरबहादुर तामाङ विजयी भएका थिए।
माओवादी केन्द्रका केही मुख्य नेतामा पर्ने सापकोटालाई आगामी कम्युनिस्ट पार्टीभित्र आफ्नो स्थान बनाउनका लागि पनि यो चुनाव अर्थपूर्ण रहेको छ। संविधानसभा निर्वाचनमा तीन सय मतले पराजित भएका एमाले नेता अरुण बरालको क्षेत्रमा बाम गठबन्धनका तर्फबाट सापकोटा उम्मेदवार भएका हुन्।
क्षेत्र नम्बर १ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने माओवादी केन्द्र तेस्रो स्थानमा छ। कांग्रेस दोस्रो र एमाले पहिलो स्थानमा छन्।
जिल्लाबाट दुई पटक चुनाव जितेका नेपाली कांग्रेसका नेता बस्नेत पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा बस्नेतले एमाले उम्मेदवार अरुण नेपाललाई पराजित गरेका थिए। सापकोटा एमाले र माओवादी केन्द्रको गठबन्धनमा छन् भने राप्रपाको सहयोगमा मन्त्री बस्नेत चुनावी प्रतिस्पर्धामा छन्।
स्थानीय चुनावका आधारमा वाम गठबन्धनको मत ४३ हजार १ सय १२ छ भने लोकतान्त्रिको गठबन्धनको २४ हजार २ सय १३ मत छ। उक्त मतान्तरलाई कम गर्दै बस्नेतलाई निर्वाचन जित्ने चुनौती छ। सापकोटालाई भने स्थानीय तहमा प्राप्त मत संरक्षण गर्दै आफू अझ दरिलो बन्नुपर्ने चुनौती छ। टिकट नपाएका एमालेका असन्तुष्टहरुको मत ल्याएर चुनाव जित्ने रणनीतिमा बस्नेत लागेका छन्।
दुई वटा संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार भएका अरुण नेपालले क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा वाम गठबन्धनबाट उम्मेदवारी दिएका छन्। त्यस्तै २ बाट सुरेश नेपालको उम्मेदवारीका कारण पनि सापकोटाले आफूलाई जित्न सहज हुने अनुमान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।