पोखरा– क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो महानगरपालिका।
टाढाटाढाबाट घण्टौं लगाएर सेवा लिन आउनुपर्ने। कुनै काम त वडाबाटै हुन्छ, कुनैका लागि भने महानगर कार्यालयमै पुग्नुपर्ने हुन्छ।
व्यस्त दैनिकीका बाबजुत पनि समय निकालेर जब सेवाग्राही कार्यालयमा काम लिएर आउँछन्, तब कि सम्बन्धित कर्मचारीका कोठा खाली हुन्छ कि आदेश बमोजिम कोठाकोठा चहार्दै हिँड्नुपर्छ। त्यसपछि समस्या लिएर आएका सेवाग्राही अमिलो मन बनाउँदै फर्किनुपर्ने बाध्यता हुन्छ।
यो पोखरा महानगरपालिकाकाका जनताको समस्या हो।
सेवाग्राहीहरू महानगरको काम गराइबाट सन्तुष्ट नभएको गुनासो गरिहन्छन्। ‘भनेको समयमा कर्मचारी नभेटिने, भेटिए पनि रुखो बोली पाउने, झन्झट लाग्दो यताउता कोठा नम्बर सोध्दै हिँड्नुपर्ने,’ सेवाग्राहीको गुनासो छ, ‘मुस्कानसहितको सेवा भन्ने कर्मचारी नै छैनन्।’
०००
महानगरकै राजस्व शाखामा कुनै पनि काम गर्न सजिलो होस् भन्ने हेतुले टोकन सिस्टम लागू गरिएको छ। राजस्व शाखामा सेवाग्राहीलाई सुविधा दिन टिभी, फ्री वाइफाई र बस्नलाई बेन्च राखिएको छ।
त्यहाँ प्रवेश गर्ने बित्तिकै एउटा ‘टच स्क्रिन’ टोनक बक्स राखिएको छ। जसबाट पालैपालो उनीहरूले टोकन लिन पाउँछन्।
तर, महानगरको त्यही टोकन बक्स नै २ बजेपछि बन्द हुन्छ। जसका कारण २ बजेपछि पुगेका उनीहरू सेवा नलिएरै फर्किनु पर्ने बाध्यता छ।
मंगलबार दिउँसो जग्गाको तिरो तिर्न आएकी प्रमिला गुरुङ साढे २ बजेतिर राजस्व शाखामा प्रवेश गरिन्। टोकन लिन जाँदा ‘सिस्टम इरर’ देखाइरह्यो। छेउमा हेल्प डेस्क पनि छ। तर, कर्मचारी छैनन्। उनी त्यहीँ घुमिरहिन्।
१५/२० मिनेटको बीचमा त्यहाँ ठूलै घुइँचो लाग्यो। कर्मचारीलाई सोध्दा झर्किंदै उत्तर दिन्थे, ‘एकछिन कुर्नुुस् न। कति हतार गर्या हो?’
प्रमिलाजस्तै जग्गाकै तिरो तिर्न आएका थिए– राजेन्द्र थापा। कर्मचारीले ‘आज काम हुँदैन भोलि आउनुस्’ भनेपछि ‘हस्, जानकारीका लागि धन्यवाद’ मुद्रामा बाहिर जाँदै थिए।
केही समयको अन्तरालपछि डेस्कमा एकजना महिला आइन्, ती कर्मचारी हुन् नाम शोभा तिमिल्सिना। टोकन बक्सबारे कुरा राख्दा ‘आजलाई बन्द भइसक्यो’ भन्ने जवाफ दिइन्।
प्रत्येक दिन २ बजे टोकन बन्द हुने शोभाले जानकारी दिइन्। उनले भनिन्, ‘३ बजे बैंक बन्द हुन्छ। त्यतिबेलासम्म सबै कारोबार गरिसक्ने हुँदा समय मिलाउन टोकन बन्द गरिन्छ।’
उनले इमर्जेन्सी सेवाग्राहीको मात्रै बिना टोकन काम हुने र अन्य भने फर्किनुपर्ने बताइन्। इमर्जेन्सी भन्नाले टाढाबाट आएका र हतारमा रहेका सेवाग्राही रहेको उनैले प्रष्ट्याइन्।
टोकन सिस्टम २ बजे नै बन्द भए पनि न कुनै सूचना छ न त जानकारी नै। ‘२ बजे टोकन बन्द हुँदो रहेछ त। पहिल्यै सूचना टाँसे राखेको भए त दुख पाउने थिएनौं नी,’ पोखरा २८ बाट आएको बताउने एक सेवाग्राही गुनासो गर्दै थिए, ‘राम्रोसँग कुरा गर्दा पनि झर्केर बोल्छन्।’
उनी फेरि एउटै कामले अर्को दिन पनि आउनुपर्ने भएको थियो।
महानगरमा कर्मचारीको व्यवहार र टोकन सिस्टममा लापरबाही छ। राजस्व शाखाका कर्मचारी सुरज शाक्यले टोकन नपाएकाले अन्तिमसम्म पर्खिनुपर्ने बताए।
उनले भने, ‘पहिले दिउँसै टोकन लिएकाको काम हुन्छ। त्यसपछि बल्ल टोकन नलिएकाहरूको पालो आउँछ।’ सेवाग्राही साँझसम्म पर्खेर पनि पालो नआए बल्ल फर्किंदा हुने उनको भनाइ थियो।
राजस्व शाखाका लेखा अधिकृत छविलाल शर्माले टोकन सिस्टम २ बजे नै बन्द गर्नेबारे सेवाग्राहीलाई सूचना नदिएको स्वीकारे। उनले भने, ‘हामीले जानकारी नै दिएका छैनौं।
यसलाई १/२ दिनमै सुधार गरिहाल्छौं।’ २ बजेपछि पनि टोकन दिए कार्यालय समयभन्दा ढिलोसम्म काम गर्नुपर्ने बाध्यता रहेको बताए। ‘पछिसम्म टोकन दियो भने हामीलाई ७/८ बजेसम्म काम गर्नुपर्छ।
त्यही भएर अगाडि नै बन्द गर्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।