काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको सुनुवाइ आज हुँदैछ।
संघीय संसदका कर्मचारीले गत आइतबार संसदीय सुनुवाइ विशेष समितिको बैठक चलिरहेको समयमै अपरान्ह ४ बजेपछि माइक काट्न खोजेपछि संसदीय सुनुवाइ विशेष समितिले आज बिहान ११ बजेका लागि बैठकलाई निरन्तरमा राखेको थियो।
समितिका सभापति लक्ष्मणलाल कर्णले सोमबार पुनः सुनुवाइ राख्ने प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षले नमानेपछि आजका लागि बैठकको मिति तोकिएको थियो। सोमबार नेपाली कांग्रेसको मेलमिलाप दिवस परेकाले उपस्थित हुन नसक्ने बताएपछि मंगलबारका लागि मिति तय भएको हो।
आइतबारको सुनुवाइमा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश राणालाई उजुरी र उनले राखेको अवधारणामा प्रश्न राखेका थिए। सुनुवाइको सुरुमा राणाले आफ्नो अवधारणा राखेका थिए। राणाले अदालतमा हुने भ्रष्टाचार, विचौलिया, न्यायाधीशहरूको उजुरी छानबिन, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाही र अनुगमन गर्ने संयन्त्र निर्माणसम्मको योजना पेस गरेका थिए।
राणाले अदालतको जनआस्था वृद्धि गर्दै छिटो र छरितो रुपमा न्याय सम्पादन गर्ने कुरामा आफ्नो चार वर्षे कार्यकाल केन्द्रित हुने प्रष्ट पारेका थिए। संसदीय सुनुवाइ समितिमा आफ्नो व्यक्तिगत विवरणबाट सुरु गरेका राणाले न्यायालयभित्र रहेको विकृतका बारेमा करिब एक घन्टा आफ्नो योजना सुनाउन भ्याएका थिए।
राणाले अदालतभित्र विचौलिया र अनियमितता रहेको स्वीकार गर्दै आफ्नो कार्यकालमा त्यसको निरुपण गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
राणाको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै सांसदहरूले कार्यान्वयनको खाका माग गरेका थिए।
आजको बैठकमा राणाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्। उनको जवाफ चित्त नबुझेमा प्रश्न राख्नसमेत उनीहरूले पाउनेछन्। यो प्रक्रिया समाप्त भएपछि उनको नाम अनुमोदन गर्ने विषयमा समितिले निर्णय गर्ने छ।
राणाको नाम अनुमोदन भएका उनी ६७ वर्षको इतिहास बोकेको सर्वोच्च अदालतको २८औं प्रधानन्यायाधीश बन्नेछन्।
वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल आज सकिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।