काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनोटमा परेका छन्।
मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निगममा विवादित बनेका गोपाल बहादुर खड्कालाई राजीनामा गराउँदै प्रतिस्पर्धाबाट पाँच जनाको नाम छनोट गरेका हुन्।
मन्त्रालयमा गठिन समितिले सुरेन्द्र पौडेल, रामप्रसाद धिताल, अनिल झा ,तारानाथ पौडेल र लोकबहादुर खड्काको नाम ‘सर्ट लिष्ट’मा निकालेको हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनोट गरेको हो।
पौडेल हेटौंडा सिमेन्ट कारखानाका महाप्रबन्धक हुन् भने धिताल वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन्।
त्यस्तै अनिल झा जनक शिक्षा सामाग्री केन्द्रका पूर्वमहाप्रबन्धक हुन्। पाँचै जनाले आ–आफ्नो कार्ययोजना पेस गरेपछि १९ गते पुन: अन्तर्वार्ता हुने र अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस हुनेछ।
ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले आयल निगमको कार्यकारी निर्देशमा नियुक्ति गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।