काठमाडौं- सर्वोच्च अदालतले हिन्दु युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका मेयर सियराम कुशवाहालाई सफाइ दिएको छ।
न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको इजलासले जन्मकैदको सजाय पाएका कुशवाहलाई सफाइ दिएको हो। जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले २०७४ फागुन २८ गते सियारामलाई जन्मकैदको फैसला सुनाएको थियो।
यसअघि तिवारीको हत्या अभियोगमा चार वर्षपहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए। तर चार वर्षपछि जिल्ला अदालतको उक्त फैसालालाई उल्टाउँदै जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैद हुने ठहर गरेको थियो।
सियाराम गत बैसाख २७ मा काठमाडौंबाट पक्राउ परेका थिए।
नेकपाका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार मन्त्री प्रभु साहको स्वकीय सचिव भएको समयमा तिवारी हत्या प्रकरणमा मुछिएपछि विवादमा आएका थिए। जनकपुर उच्च अदालतको वीरगन्ज इजलासका न्यायधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फागुन २८ गते नै सियरामलाई जन्मकैदको फैसला सुनाएको थियो। तर उनलाई प्रहरीले स्थानीय निर्वाचनमा भाग लिई निर्वाचित हुन समेत दिएको थियो। तर परिवारले फैसला कार्यान्वयनका लागि निवेदन दिएपछि यो प्रकरण पुन ब्युँतिएको थियो।
फैसलाको लगत जिल्ला अदालतमा पठाएपछि जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयमार्फत सियरामविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी काठमाडौंबाट पक्राउ परेका थिए।
तिवारी हत्या प्रकरण
हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ असार १२ गते साँझ वीरगन्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो।
प्रहरीका अनुसार मोटरसाइकल लिएर मन्दिरमा पुगेका सियराम कुशवाह र बाराको हरैयाका अमनप्रसाद कुशवाहमध्ये सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए।
हत्यापछि फरार रहेका उनलाई साढे तीन वर्षपछि २०७० पुस १ गते चितवनको भण्डराबाट प्रहरीले पक्राउ गरेको थियो।
तर जिल्ला अदालत पर्साले निर्दोष रहेको भन्दै सफाइ दिएपछि उनी पक्राउ परेको एक महिनामै रिहा भएका थिए। तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो। उनी हाल वीरगन्ज कारागारमा छन्। अमनकै बयानका आधारमा प्रहरीले सियारामलाई पनि पक्राउ गरेको थियो।
स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकाको मेयरमा निर्वाचित सियरामले जन्मकैदको फैसलाबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।