काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबमाथि जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले थ्रीस्टारमाथि ३–१ को जित हात पारेको हो।
खेलमा अग्रता भने थ्रीस्टारले लियो। थ्रीस्टारका लागि १२औं मिनेटमका अबाङ अलबर्टले पुलिसका गोलकिपरको गल्तीको फाइदा उठाउदै गरे।
२०औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो। निरकुमार राईले थ्रीस्टारका डिफेन्डरले नियन्त्रण गर्न नसकेको बललाई गोलपोस्टको दिशा दिए।
दोस्रो हाफ सुरु भए लगत्तै पुलिसले खेलमा अग्रता लियो। पुलिसका लागि ४७ मिनेटमा अभिषेक रिजालले पेनाल्टीमार्फत गोल गरेका थिए। विजय धिमालले डिबक्स भित्र ह्यान्ड गरेपनि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।
५५ मिनेटमा पुलिसका लागि कप्तान भोला रिजालले तेस्रो गोल गरेका थिए। उनले थ्रीस्टारका डिफेन्सलाई बिट गर्दै गोल गरेका थिए।
जितपछि पुलिस पाँचौ स्थानमा उक्लिएको छ। पुलिसले ११ खेलबाट १८ अंक जोडेको छ। तेस्रो स्थानको थ्रीस्टारको २५ अंक छ। चौथो स्थानको आर्मीको २१ अंक छ।
शीर्ष स्थानको मनाङले ३३ अंक जोडेर लिग जितिसकेको छ। अन्तिम खेल बाँकी छदा दोस्रो स्थानको संकटाको २५ अंक मात्र भएपछि मनाङ च्याम्पिनय बनेको हो।
योसँगै लिगको ११ चरणको खेल सकिएका छन्। सोमबारदेखि १२औं चरण सुरु हुनेछ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।