काठमाडौं- प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरेको दाबी गर्दै तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार बिहान प्रदेश २ का ११ सांसदले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीत गतिविधि गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका हुन्।
सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। कूटनीतिक मर्यादा विपरीतका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाइका साथ लागू गर्न पनि सरकारसँग माग गरिएको छ। संघीयता अनुकूल परिमार्जनगरी कूटनीतिक आचारसंहिताको पूर्ण पालना गराउन पनि सरकारलाई सचेत गराइएको सत्तारुढ नेकपाका सांसद प्रभु साहले बताए।
सांसदहरुले प्रधानमन्त्री, मन्त्री, मुख्य राजनीतिक दलका नेताहरुले कूटनीतिक नियोगका प्रमुखहरुसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरु अनिवार्य रहने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्। त्यसैगरी परराष्ट्र मन्त्रालयको स्विकृतिबिना प्रदेश सरकारलाई कूटनीतिक भेटघाट गर्न नदिन पनि सरकारलाई आग्रह गरिएको प्रतिनिधिसभाका सांसद साहले जानकारी दिए।
ज्ञापनपत्रमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा अविलम्ब कार्यकारी निर्देशक नियुक्त गर्नुका साथै संघीयता अनुकूल उक्त संस्थाको पनि पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको छ।
सांसदहरुको ज्ञापत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक आचारसंहिता परिमार्जनको क्रम सुरु भएको उल्लेख गर्दै तयार हुनेवित्तिकै त्यसलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
२०६८ सालमा बनेको कूटनीतिक आचारसंहितालाई संशोधन गर्ने सरकारको तयारी छ। मन्त्री ज्ञवालीले सो आचारसंहिता संशोधन गरेपछि त्यसलाई कडाइका साथ कार्यान्वयनमा लैजाने स्पष्ट पारे।
ज्ञापनपत्र बुझाउन प्रदेश २ का प्रतिनिधिसभाका सांसदहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल र प्रदेश सभा सांसदहरु प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।