काठमाडौं- सरकारले देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विज्ञापन मुक्त गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलमा राखिएका विज्ञापन चैत भित्रै हटाउने गरी काम थालेको छ।
‘विज्ञापनका होडिङ बोर्डले विमानस्थललाई कुरुप बनाएको छ’, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भने, ‘२०७६ को सुरुवातसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विज्ञापन मुक्त हुनेछ।’
विमानस्थलमा रहेका विज्ञापन हटाउने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयसँग सहकार्य पनि भइरहेको देवकोटा बताउँछन्।
‘प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई विश्व्कै नमुना बुटिक विमानस्थलको रुपमा विकास गर्ने सोचको साथ अगाडि बढ्नुभएकाे छ’, देवकोटाले भने, ‘विमानस्थलको सुन्दरताका लागि पनि विज्ञापनका होडिङ बोर्ड हटाउनु पर्छ।’
अहिले विमानस्थल कार्यालयले विज्ञापनबाट वार्षिक दुईदेखि तीन करोड आम्दानी गरिरहेको छ। तर, विमानस्थलको स्वरुप बिगार्ने भएकोले यो आम्दानीले ठूलो महत्व नराख्ने देवकोटाकाे तर्क छ।
विमानस्थलमा रहेका विज्ञापनका होडिङ बोर्ड हटाएर नेपालको पर्यटन विकासका लागि आवश्यक टेवा पुग्नेगरी मात्रै काम गर्ने उनकाे भनाई छ। विमानस्थलमा नेपालका पर्यटकीय गत्तव्यकाे प्रचारप्रसार हुने गरी ठूला ५ वटा होडिङ बोर्ड मात्रै रहने गरी काम अगाडि बढेको छ।
संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले यसअघिनै विमानस्थलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपालको झल्को दिने खालका ठूला–ठूला होडिङ बोर्ड राख्ने निर्णय गरेको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।