एजेन्सी– इन्डानेसियामा पुनः ज्वालामुखी विस्फोट हुनसक्ने भन्दै सुरक्षा सतर्कता अपनाउन सचेत गराइएको छ। शृंखलाबद्ध रुपमा ‘अनक क्राकाटौ’ नामक ज्वालामुखी विस्फोट भइरहेकोले यसपटक हालसम्मकै दोस्रो ठूलो विस्फोट हुनसक्ने भन्दै सतर्कता अपनाउन इन्डोनेसियाको विपद् व्यवस्थापन केन्द्र (बिएनपिबी)ले आग्रह गरेको हो।
ज्वालामुखी विस्फोट भइरहेको क्षेत्र वरपरको ५ किलोमिटर इलाकामा हवाई यात्राका लागि रोक लगाइएको छ। सो रुट भएर सवार हुने सबै विमानहरुको उडानलाई नयाँ रुटबाट गन्तव्यमा जान सूचित गरिएको छ।
इन्डोनेसियाको एयर ट्राफिक कन्ट्रोल एजेन्सी ‘एयरनाभ इन्डोनेसिया’ले ज्वालामुखी विस्फोट हुनसक्ने भन्दै ‘रेड अलर्ट’ जारी भएपछि सो क्षेत्रका सबै उडानहरु ‘रि–रुट’ गरिएको जनाएको छ। ‘एयरनाभ इन्डोनेसिया’का म्यानेजरका अनुसार करीब २० देखि २५ उडान प्रभावित भएका छन्। अष्ट्रेलिया, सिंगापुर र मध्यपूर्वका केही देशका लागि तय गरिएका अन्तर्राष्ट्रिय उडानहरुलाई समेत नयाँ रुटको व्यवस्था गरिएको छ।
नयाँ रुट तय गर्दा यात्रुका लागि थप समय यात्रु गर्नुपर्ने तथा विमानका लागि बढी इन्धन आवश्यक पर्ने भएपनि यसबाट पर्न गएको समस्या सामान्य भएको ‘एयरनाभ इन्डोनेसिया’ले दाबी गरेको छ।
गएको शनिबार मात्रै ज्वालामुखी विस्फोट भई हिन्द महासागरमा सुनामी आउँदा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको थियो।
‘लगाताररुपमा ज्वालामुखीको सक्रियता बढ्दो छ’, बिएनपिबीको प्रेस विज्ञप्तिमा भनिएको छ। बिएनपिबीले ज्वालामुखीबाट सम्भावित खतरा पुग्नसक्ने क्षेत्रलाई बढाएर २ किमीबाट ५ किमीसम्म पुर्याइएको छ। सो क्षेत्रमा बसोबास गर्ने स्थानीय तथा पर्यटकलाई सुरक्षित स्थानमा स्थानन्तरण हुन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।