काठमाडौं- निर्यातजन्य उद्योगलाई प्रोत्साहत मिल्नेगरी सरकारले अनुदान बढाएको छ। अब वस्तु निर्यात गर्ने उद्योगले अधिकतम ५ प्रतिशत नगद अनुदान पाउने भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५ मन्त्रिपरिषद्ले पारित गरेसँगै अब निर्यातजन्य उद्योगले साबिकभन्दा धेरै नगद अनुदान पाउने बाटो खुलेको छ।
निर्यातमा नगद प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७० खारेज गरी सरकारले नयाँ कार्यविधि लागू गरेको हो।
स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन तथा निर्यात प्रवर्द्धन गरी वैदेशिक व्यापारमा देखिएको असन्तुलन कम गर्न कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ। ‘स्वदेशी उत्पादन अभिवृद्धि गरी व्यापार घाटा कम गर्न यो कार्यविधिले सहयोग गर्छ,’ मन्त्रालयका प्रवक्ता नवराज ढकालले नेपाल लाइभसँग भने।
कुन वस्तुमा कति?
औद्योगिक उत्पादनलाई दुई चरणमा विभाजन गरेर निर्यात अनुदान प्रदान गर्ने व्यवस्था कार्यविधिमा छ। जसअनुसार २६ औद्योगिक उत्पादन निर्यातमा नगद अनुदान प्रदान हुनेछ। जसमा १५ उत्पादनले कुल निर्यात मूल्यको ५ र ११ उत्पादनले ३ प्रतिशत नगद अनुदान पाउनेछन्।
शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनले मात्र ५ प्रतिशत अनुदान पाउनेछन्। ती वस्तुमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रष्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित जडिबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर लगायत छन्।
त्यस्तै, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, अलैंची र अदुवा (सुठो, स्लाइडिङ र पाउडर लगायत) मा पनि ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था कार्यविधिमा छ। तर, यी वस्तु परिवर्त्य मुद्रामा निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, ३ प्रतिशत नगद अनुदान पाउने वस्तुमा स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन लगायत छन्। त्यस्तै, सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तुहरू, पोलिस्टर यार्न/फाइबर भिस्कोर्ष यार्न/एक्रेलिक यार्न/कटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) ले पनि ३ प्रतिशत अनुदान पाउनेछन्।
नेपाल सरकारले राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्क दर्ता गरेको र मूल्य अभिवृद्धि कम्तीमा ४० प्रतिशत भएका ३ प्रतिशत अनुदान पाउने वस्तुको हकमा ती वस्तु निर्यात गर्दा थप एक प्रतिशत अनुदान पाउनेछन्।
यसअघि १० वटा वस्तुमा २ र १५ वटामा १ प्रतिशत गरी २५ वस्तुमा निर्यात अनुदान दिने व्यवस्था थियो।
यस्ता उत्पादनले मात्र पाउँछन् अनुदान
अनुदान पाउने उत्पादन स्वदेशमै प्राप्त हुने वा उत्पादन हुने कृषि, वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेको हुनुपर्ने व्यवस्था छ। कम्तीमा ५० प्रतिशत मूल्य अभिवृद्धि भएको वस्तुले मात्र ५ प्रतिशत र कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएको वस्तुले मात्र ३ प्रतिशत अनुदान पाउनेछन्।
अनुदान पाउन निर्यातकर्ताले निर्यात गरेको वस्तुको भुक्तानी परिवर्त्य विदेशी मुद्रामा बैंकमा दाखिला भएको प्रमाण पेस गरेको हुनुपर्छ। तर, भारतमा हुने निकासीको हकमा प्रतीतपत्र (एलसी) मार्फत आर्जित भारतीय मुद्रा बैंकमा दाखिला गरेको प्रमाण पेस गरेको हुनुपर्छ।
नेपाल सरकारले राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्क दर्ता गरेको र मूल्य अभिवृद्धि कम्तीमा ४० प्रतिशत भएका ३ प्रतिशत अनुदान पाउने वस्तुको हकमा ती वस्तु निर्यात गर्दा थप एक प्रतिशत अनुदान पाउनेछन्।
तर, कार्यविधि अनुसार निर्यात अनुदान पाउन उद्योग विभागबाट निर्यात हुने वस्तु उत्पादन गर्ने उद्योगको प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, निर्यात अनुदानका लागि निर्यातकर्ताले वस्तु निकासी गर्ने प्रयोजनका लागि कारोबार गरेको बैंकमा आफ्नो आयात–निर्यात अनुमतिपत्र (एक्जिम कोड), तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताको प्रतिलिपि, निर्यातकर्ताद्धारा जारी गरिएको निर्यातित वस्तुको व्यापारिक बिलबिजक र भन्सार प्रज्ञापनपत्र, निर्यात गरेबापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाण वा बैंक स्टेटमेन्ट र पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने कार्यविधिमा उल्लेख छ।
अनुगमन पनि हुने
अनुदानको दुरुपयोग हुन नदिने अनुगमनको व्यवस्था पनि कार्यविधिमा गरिएको छ। त्यसका लागि निजी क्षेत्रसमेतको संलग्नतामा ९ सदस्यीय एक समिति गठन हुने व्यवस्था छ। जसको संयोजकमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहनेछन्। उक्त समितिले अनुदान प्रदान गर्ने कार्यको अनुगमन तथा मूल्यांकन, समन्वय र सिफारिस गर्नेछ।
यस्तो छ कार्यविधि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।