काठमाडौं- ब्याजदर सन्तुलन कायम गर्ने नेपाल राष्ट्र बैंकले भूमिका खेलेको गभर्नर डा चिरञ्जीवि नेपाललले बताएका छन्। संसदको अर्थ समितिमा गभर्नर डा नेपालले सो कुरा बताएका हुन्।
‘राष्ट्र बैंकले वित्तीय संस्थालाई नैतिक दबाब दिएकाले ब्याजदर घटेको छ। अब सेयर बजार पनि सुधार हुन्छ,’ गभर्नर नेपालले भने। सरकारी कार्यदलबाट आएका सबै सुझाव कार्यान्वयन गरिने समेत गभर्नर नेपालले उल्लेख गरे।
‘५८ वटामध्ये २७ वटा राष्ट्र बैंकले कार्यान्वयन गर्नु पर्ने सुझावहरू छन्। हामी त्यो छिट्टै कार्यान्वयनमा ल्याउछौं,’ उनले भने। अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा र पूँजी बजारका समस्या समाधानका लागि सुझाव दिन गठन गरेको कार्यदलले गत बुधबार प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा ५८ वटा बुँदा रहेका छन्।
साथै गभर्नर नेपालले मार्जिन कर्जा र सेयर कार्जाको सीमांकन तयार गर्ने तयारीमा रहेको जानकारी दिए। उनले बैंकहरूले तत्कालै सेयर ब्रोकरको काम गर्न पाउने जानकारी दिएका छन्।
राष्ट्र बैंकले सहायक कम्पनी नखोली पनि बैंकहरूले सेयर ब्रोकरको काम गर्न पाउने व्यवस्था मिलाएको उनले बताए।
राष्ट्र बैंकको अनुमति लिएर तत्काल सेयर ब्रोकरको काम गर्न सक्ने तर केही समयपछि भने सहायक कम्पनी अनिवार्य खोल्नैपर्ने उनले बताए।
यद्यपि मंगलबार बसेको अर्थसमितिको बैठक मुद्रा र पुँजी बजारमा पुनः छलफल गर्ने भन्दै बिना निष्कर्ष टुङगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।