दाङ– दाङको टरिगाउँ विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ। पुस १२ गतेदेखि तुलसीपुरमा दैनिक हवाई सेवा सञ्चालन हुने नेपाल वायु सेवा निगमले जनाएको छ।
यसअघि पटक–पटक सञ्चालन र बन्द हुँदै आएको विमानस्थल अब भने नियमित सञ्चालनमा आउने भएको हो। अहिले हप्तामा तीन पटक हवाई सेवा सञ्चालन हुँदै आएको विमानस्थलमा अब भने नेपाल एयरलाइन्सले दैनिक उडान गर्ने निगमका प्रवक्ता विजय लामाले बताए।
२०११ सालदेखी दाङ विमानस्थलमा हवाई सेवा सुरु भएपनि पटक–पटक विमानस्थलकाे सञ्चालन अनियमित बन्दै आएको थियो। तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि विमानलाई नियमित बनाउन थालिएको पहलस्वरुप दैनिक विमानस्थल सञ्चालनमा आउन थालेको हो।

यात्रुहरुको चाप धेरै भएपछि दैनिक विमान सञ्चालन गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।
विमान सञ्चालन भएपछि दाङलगायत सल्यान, रोल्पालगायतका नागरिकलाई सहज भएको छ। साथै विमानस्थलमा टर्मिनल भवन निर्माणको प्रक्रिया पनि अघि बढेको छ। अस्थायी इन्धन डिपो निर्माणका लागि नियमित पहल भइरहेको प्रमुख पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।