काठमाडौं- एनआइसी एसिया बैंक ह्याकिङ प्रकरणको मुद्दामा अन्तिम सुनुवाइ उच्च अदातल पाटनमा सुरु भएको छ। बैंक ह्याक हुँदा मोहन रन्जित, प्रधुम्न नेपाली र प्रतिना प्रधानको युजर आइडी र पासवर्ड प्रयोग गरी ३१ वटा स्विफ्ट म्यासेजमार्फत विदेशका विभिन्न बैंक खाताहरुमा ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपैयाँ रकमान्तर भएको थियो।
ह्याकिङ प्रकरणको मुद्दा न्यायाधीशद्वय प्रेमराज ढकाल र विष्णुप्रसाद कोइरालाको इजलासमा पेसी रहेको छ। वाणिज्यको ३ नम्बरमा रहेको उक्त मुद्दामा सरकारी पक्ष र बैंकका कानुन व्यवसायीले बहस गर्नेछन्।
अघिल्लो वर्ष १ कात्तिक २०७४ मा बैंक ह्याक भएको थियो। ह्याकिङपछि बैंक आफैले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैंकको भूमिका न्यूनिकरण गर्दै भारतबाट केपीएमजी कम्पनीका सदस्य ल्याएर प्रकरणको अनुसन्धान गर्न लगाएको थियो। केपीएमजीकै रिपोर्टलाई प्रहरी र राष्ट्र बैंकले अनुमोदन गर्दै ८ देशका १३ खातावालालाई विपक्षी बनाई पाटन उच्च अदालतमा २०७५ बैसाख ४ गते मुद्दा दर्ता भएको थियो। बैंकका पदाधिकारीले सिआइबी र राष्ट्र बैंकका कर्मचारीलाई प्रलोभनमा पारी केपीएमजीको एकतर्फी रिपोर्ट अनुमोदन गर्न लगाएका थिए।
बैंकको साइबर सुरक्षा कमजोर भएका कारण ह्याकरहरुले बैंकको रकम चोरी गरेको अनुसन्धानमा देखिएको थियो। तर बैंक व्यवस्थापन र कर्मचारीलाई जोगाउन ह्याक गरी बैंकको पैसा निकालेका १३ जना विदेशी नागरिकलाई विपक्षी बनाइ मुद्दा दायर भएको थियो।
बैंक ह्याकिङपछि भएको अनुसन्धान प्रक्रिया र जिम्मेवारीबारे कतिपय प्रश्नहरु भने अनुत्तरित छन्।
यो पनि - ४६ करोड ह्याकिङ प्रकरणको दस्तावेज : एनआइसी एसिया बैंक अत्यन्तै सुरक्षा जोखिममा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।