काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोग गर्दै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु शिक्षाको प्रमुख दायित्व भएको बताए ।
उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि स्वदेशमै उत्पादनशील रोजगारीका अवसर सिर्जना गर्ने तथा नागरिकमा देशभक्तिको भावना विकास गर्ने किसिमको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्ने माध्यम भएकाले विद्यार्थीलाई समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए।
नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध रहेको उल्लेख गर्दै उनले शिक्षाले यस विविधताको सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
कुनै पनि शैक्षिक संस्थाको पहिचान निरन्तरता, प्रतिबद्धता, सेवा र योगदानको इतिहासबाट निर्माण हुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सेन्ट जेभियर्स स्कुलले अनुशासन, संस्कार, सेवा, जिम्मेवारी र मानवीय मूल्यलाई शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाएको बताए ।
नेपालको शैक्षिक विकासमा विद्यालयले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यहाँबाट शिक्षित विद्यार्थीले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि अनुकरणीय रहेको बताए ।
शिक्षाको उद्देश्य परीक्षामा राम्रो नतिजा हासिल गर्नु वा प्रमाणपत्र प्राप्त गर्नुमात्र नभएको बताउँदै राष्ट्रपति पौडेलले परिवर्तनशील समयसँगै आधारभूत मानवीय मूल्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा ‘कस्तो राष्ट्र निर्माण गर्ने र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ’ भन्ने प्रश्नको उत्तर शैक्षिक प्रणालीले खोज्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले आगामी दिनमा सेन्ट जेभियर्स स्कुलले शिक्षाका माध्यमबाट नागरिकको सर्वाङ्गीण विकास र राष्ट्र निर्माणमा अझ प्रभावकारी योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।