काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्मा दर्ता गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत संघीय संसद् सचिवालयमा भवन ऐन, २०८३ को विधेयक दर्ता गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार विधेयकमा निम्न आय भएका परिवारको आवास सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था प्रस्ताव गरिएको छ।
शाहका अनुसार पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्डअनुसार घर बनाउन आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि आवश्यक प्रकृतिजन्य सामग्री उपलब्ध गराउने व्यवस्था पनि विधेयकमा समेटिएको उनले बताएका छन्।
गरिब तथा विपन्न नागरिकका लागि संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी ७५ हजार रुपैयाँसम्म आवास अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको शाहले उल्लेख गरेका छन्।
त्यस्तै, विपद् प्रभावित, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।
मध्यम आय भएका परिवारका लागि भूकम्प प्रतिरोधी तथा आधारभूत मापदण्ड पूरा भएका ‘स्मार्ट घर’ निर्माण तथा उपलब्ध गराउने योजना अघि सारिएको शाहको भनाइ छ। उनका अनुसार यस्ता घरको लागत २० लाखदेखि ७५ लाख रुपैयाँसम्म र प्लिन्थ क्षेत्रफल ९ सयदेखि १ हजार ३ सय वर्गफिटसम्म हुने प्रस्ताव गरिएको छ।
यस्ता घर नागरिकले सहुलियतपूर्ण ऋणमार्फत प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रारम्भिक रूपमा ५ लाख रुपैयाँ अग्रिम र मासिक ११ हजार रुपैयाँका दरले १५ वर्षसम्म किस्ता तिर्ने विकल्प राखिएको छ।
त्यस्तै, १० लाख अग्रिममा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्पसमेत प्रस्ताव गरिएको शाहले बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नयाँ भवन ऐनमार्फत निम्न आय भएका नागरिकको आवास सुनिश्चित गर्नेदेखि मध्यम आय भएका परिवारलाई सुरक्षित र व्यवस्थित घर उपलब्ध गराउनेसम्मका व्यवस्था कानुनी रूपमा अघि बढाउन खोजिएको छ।
t-align: justify;">
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।