काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। क्रिकेटका दुई प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुनेछन्।
भारत र पाकिस्तानबीचको खेल २०२७ अक्टोबर १० मा हुनेछ। दुवै टोलीलाई एउटै समूहमा राखिएको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकपमा १४ टोली सहभागी हुनेछन् र कुल ५७ खेल खेलाइनेछ।
यसपटक विश्वकपको ढाँचा अघिल्लो संस्करणभन्दा फरक हुनेछ। प्रतियोगिता सुपर सिरिजबाट सुरु हुनेछ। त्यसपछि समूह चरण हुँदै सुपर–७ चरण हुनेछ र अन्तिममा सेमिफाइनल तथा फाइनल खेलाइनेछ। फाइनल नोभेम्बर २१, २०२७ मा हुनेछ।
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म आठ खेल भएका छन्। ती सबै खेलमा भारत विजयी भएको छ।
दुई टोलीबीचको पछिल्लो विश्वकप भिडन्त २०२३ मा अहमदाबादमा भएको थियो। उक्त खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। यसअघि १९९२, १९९६, १९९९, २००३, २०११, २०१५ र २०१९ को विश्वकपमा पनि भारतले पाकिस्तानलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।