काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानमा रहेको वैधानिक व्यवस्थाबारे सबैलाई पुनः स्मरण गराएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा निर्वाचनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । विधान अनुसार पार्टीको कुनै पनि तहको अधिवेशनमा प्रतिस्पर्धा गरिसकेको व्यक्ति सोही अवधिमा आफूभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन पाउँदैन ।
सोही वैधानिक व्यवस्थालाई स्मरण गराउँदै समितिले आगामी १५औँ महाधिवेशनमा केन्द्रीय तहको कुनै पनि पदमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ताहरू त्यसलगत्तै हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रष्ट पारेको छ ।
यसैगरी, विज्ञप्तिमार्फत निर्वाचन समितिले पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूबाट प्रतिनिधित्व गर्ने पदेन प्रतिनिधिहरूलाई महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको समेत स्पष्ट पारेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।