कठमाडौ– उच्च अदातल विराटनगरले ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दारलाई धरौटीमा छोड्ने आदेश गरेको छ। उच्च अदालत विराटनगरले आरकेका मालिक र पोद्दारलाई जनही १० लाख धरौटी माग गर्ने आदेश गरेको थियो।
जिल्ला अदातल मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुलाई उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले धरौटीमा छाडेको हो। उच्च अदालतका रजिष्ट्रार नारायण रेग्मीले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश भएकोले सोही बमोजिम धरौटी राखेर रिहा हुने क्रममा रहेको बताए।
मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाउने आदेशविरुद्ध शाक्य साउन १ मा र पोद्दार असोज १६ उच्च अदालत गएका थिए।
बिहिबार उनीहरु सहित १८ प्रतिवादीहरुको मुद्दा पेशीमा रहेको थियो। अन्य मुद्दा भने सुनुवाई हुन नसकी अर्को पेसीका लागि सरेको छ।
सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी समितिले आरके ज्वैलर्सको काठमाडौंस्थित विभिन्न शाखाहरूमा छापा मारेर करोडौंको धनमाल जफत गरेको थियो।
शाक्यले चुडामणि उप्रेती गोरेमार्फत भित्रिएको सुन व्यवस्थापन गर्दै आएको आरोपपत्रमा उल्लेख थियो।
तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणी उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।
यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरी सहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। उनीहरुसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।