काठमाडौं– सरकारले दिने सहुलियत ऋणका लागि विदेशबाट फर्किएर स्वदेशमै उद्यमी बन्न चाहने युवाको आकर्षण बढ्दै गएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेशबाट फर्किएर स्वदेशमै उद्यमी बन्न चाहने युवाका लागि सीपका आधारमा १० लाख रुपैयाँसम्मको सहुलियत ऋण दिने योजना अघि सारेको थियो।
सोही सहुलियत ऋण लिन भन्दै बोर्डमा आवेदन भर्ने युवाको भीड लाग्ने गरेको हो। गएका २ सातामा ८ सय २५ जनाले सहुलियत ऋणका लागि आवेदन फाराम भरिसकेको बोर्डले जानकारी दिएको छ।
विदेशमा काम गर्दा सिकेको सीप, क्षमता र ज्ञानको आधारमा सरकारले दिने १० लाख रुपैयाँ रुपैयाँसम्मको सहुलियत ऋण चालू आर्थिक वर्ष २०७५/०७६ देखि उपलब्ध गराउन थालिएको हो। ऋणका लागि आवेदन दिन उपत्यका बाहिरका युवा पनि बोर्डसम्म आउने गरेका छन्।
सहुलियत ऋणमा युवाको आकर्षण धेरै बढेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए। उनले बोर्डमा आवेदन भर्न आउने युवाको चापलाई हेर्न हो भने देशभित्र नै उद्यमी बन्नुपर्छ भन्ने भावना विदेशबाट फर्किएका युवामा जागृत भएको दाबी गरे।
अध्यक्ष श्रेष्ठका अनुसार सहुलियत ऋणको आवेदन भर्न आउनेको संख्या दैनिक ३० देखि ५० जना हुने गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणका क्रममा विदेशबाट फर्किएका युवालाई सीप प्रमाणीकरण गरी १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरेका थिए।
सोही घोषणाको कार्यान्वयनस्वरुप यस वर्षकाे लागि गत मंसिर १३ गतेदेखि सहुलियत ऋणका लागि आवेदन फारम भर्न सुरु गरिएको बोर्डले जनाएको छ। विदेशमा सिकेको सिपका आधारमा ऋण लिन चाहने युवाले पुस १४ गतेसम्म निवेदन दिनसक्ने बोर्डले सूचना जारी गरेको छ।
सहुलियत ऋणको लागि बोर्डको वेबसाइट www.fepb.gov.np बाट पनि फारम डाउनलोड गरी भर्न सकिने छ। निवेदन बोर्डको इमेल ठेगाना [email protected] मा पनि पठाउन सकिने बोर्डले जनाएको छ।
यो व्यवस्थामा सामेल हुन वैदेशिक रोजगारीमा कम्तिमा ६ महिना काम गरेर स्वदेश फर्किएको हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए।
वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका कामदारलाई आफूले सिकेको सीप परीक्षण गराई सीप आर्जनको प्रमाणपत्र लिन चाहेमा सम्बन्धित सीपको निःशुल्क परिक्षण गराउने व्यवस्था समेत बोर्डले गरेको छ।
सहुलियत ऋणको आवेदन दिन आवश्यक कागजातहरुः
१) प्रस्ताव (अनिवार्य रुपमा निम्न बुँदाहरु संलग्न गरी लेख्नुपर्ने)
– के गर्ने
– कहाँ गर्ने
– अनुमानित लागत
– अनुमानित नाफा
– ऋण तिर्ने योजना
२) राहदानी र भिसाको प्रतिलिपि
३) नागरिकताको प्रतिलिपि
४) श्रम स्वीकृतिको प्रतिलिपि
५) विमानस्थलमा जारी आगमन(अराइभल) र बहिर्गमन(डिपार्चर) को स्टिकरको प्रतिलिपि
६) तालिम लिएको र काम गरेका प्रमाणपत्रहरुको प्रतिलिपि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।