काठमाडौं। मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।
घाइतेमध्ये कुमार नेपालीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र सन्देश नेपालीलाई न्युरो अस्पताल, विराटनगर पठाइएको थियो। उपचारका क्रममा कुमार र सन्देशलाई शुक्रबार चिकित्सकले मृत्यु घोषणा गरेका थिए।
मोटरसाइकलमा सवार अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।