नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेका छन्।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा गोरखा गो.न.पा.–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुरा स्वामी कात्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा र बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु रहेका छन्।
त्यस्तै, बाजुरा स्वामी कात्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लाल बहादुर कार्की, बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन्।
घटनाको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पठाएको छ। उनीहरूको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।