काठमाडौं– प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी एवं कर्मचारीहरूको विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले आफ्नो वेबसाइटमार्फत २५ सदस्यीय टोलीको औपचारिक विवरण बाहिर ल्याएको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्रीसरहको मर्यादा पाउने गरी पाँच जनालाई जिम्मेवारी दिइएको छ । जसमा कुमार ब्यञ्जनकारलाई अवैतानिक मुख्य राजनीतिक सल्लाहकार र असिम शाहलाई राजनीतिक सल्लाहकारको जिम्मेवारी तोकिएको छ । उनीहरू दुवै जनालाई मन्त्रीसरहको पद दिइएको छ भने प्राडा जगदिश प्रसाद अग्रवाललाई पनि मन्त्रीसरहकै हैसियतमा अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको छ । यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा प्रदान गरिएको छ।
यसैगरी, प्रधानमन्त्रीको सचिवालयतर्फ प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट श्रेणी सरह) को जिम्मेवारी सुवाष शर्माले पाएका छन् भने स्वकीय सचिवमा रा.प. प्रथम श्रेणीसरह नविन भण्डारी रहेका छन्। सहसचिव (रा.प. प्रथम श्रेणी) सरहको विज्ञ समूहमा विकास परियोजना हेर्ने गरी सञ्जिव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजकमा सन्तोष गिरी र सामाजिक विकास विज्ञका रूपमा विश्व राई कार्यरत छन्।
उपसचिव (रा.प. द्वितीय श्रेणी) सरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ भने सहायक विज्ञका रूपमा सुमन गौतमले नागरिक उड्डयन र रवि किरण अधिकारीले भाषा तथा मस्यौदाको जिम्मेवारी सम्हालेका छन्।
सचिवालयको शाखा अधिकृत तथा अन्य प्रशासनिक र प्राविधिक तह (रा.प. तृतीय र अनंकित) मा थप ९ जना कर्मचारी खटिएका छन् । जसमा प्रेस सहजकर्ताका रूपमा सुरेन्द्र बजगाई, ग्राफिक्स डिजाइनरमा रोशन तामाङ, अनुसन्धान अधिकृतहरूमा बेदानन्द जोशी र हेम नारायणदास चौधरी तथा भिडियोग्राफरमा अमृत पाण्डे रहेका छन्। यसै तहअन्तर्गत सचिवालयमा अनुप थापा मगर, ऋषी थापा, राज कुमार गौतम र बेनिस कार्की कार्यरत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।