दमौली– पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सुरु गरिएको केवलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन्।
_x000D_
_x000D_
यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ। बन्दीपुर केवलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केवलकार एन्ड टुर्स लिमिटेडको लगानीमा केवलकार निर्माणको काम सुरु भइसकेको छ।
_x000D_
_x000D_
बन्दीपुर केवलकार कम्पनीका अध्यक्ष तारानाथ उपाध्यायले शेयर खरिदका लागि जिल्लाका अन्यत्र ठाउँका सर्वसाधारणले समेत चासो देखाएकाले शेयर खुला गरिएको जानकारी दिए। उनले भने, ‘यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै शेयर खुला गरिएको थियो। कात्तिक २५ गतेदेखि सम्पूर्ण जिल्लावासीका लागि नै शेयर खरिद गर्न सकिने व्यवस्था मिलाएका छौँ।’ उनका अनुसार आगामी मङ्सिर २५ गतेसम्म शेयर हाल्ने समयावधि थप गरिएको छ।
_x000D_
_x000D_
कम्पनीले केवलकारमा स्थानीयका लागि ११ करोड २० लाख रुपैयाँ बराबरको शेयर छुट्याएको छ। बन्दीपुरका ६० जनाले केवलकारको शेयरका लागि आवेदन दिइसकेका छन्। ‘केबलकारको शेयर खरिद गर्न स्थानीयको चासो बढेको पाएका छौँ’, उपाध्यायले भने, ‘बन्दीपुरबाट मात्रै ११ करोड २० लाख उठ्न सम्भव नदेखिएकोले अब समग्र तनहुँवासीलाई नै शेयरमा समेट्छौँ।’
_x000D_
_x000D_
हाल केवलकारको ‘रिटेनिङ वाल’ र जगको काम भइरहेको उनले जानकारी दिए। कम्पनीले १ सय रुपैयाँका दरले ११ लाख २० हजार कित्ता प्रवद्र्धक शेयर सर्वसाधारणका लागि खुला गरेको छ। कम्पनीले बन्दीपुर आसपासका जनतालाई ७ हजार ५ सय तिरेपछि १० वर्षसम्म केवलकारको सेवा प्रदान गर्ने घोषणासमेत गरिसकेको छ।
_x000D_
_x000D_
कम्पनीलाई पब्लिक कम्पनीका रुपमा विकास गरी जनताको अपनत्व बढाइने आरकेडी रियल स्टेट कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।
_x000D_
_x000D_
पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका–४ स्थित ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घन्टामा २ सय जनाले वारपार गर्न सक्नेछन्। डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करीब २० मिनेट लाग्छ। केवलकार निर्माण भएपछि ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ।
_x000D_
_x000D_
५६ करोड रुपैयाँको लागतमा निर्माण हुने केवलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन्। करीब १५ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको केवलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।