काठमाडौं– भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिँदै पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहे पनि चाडपर्वको समयलाई ध्यानमा राख्दै तत्काल बिक्री मूल्य समायोजन नगर्ने निर्णय भएको हो।
काठमाडौंमा पेट्रोल–डिजेल २०० रुपैयाँमै
नयाँ निर्णयअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेल दुवैको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ र काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको छ।
मूल्य नबढाउँदा निगमलाई १ अर्ब ९१ करोड घाटा
खरिद मूल्य बढे पनि खुद्रा मूल्य नबढाउने निर्णयले नेपाल आयल निगममाथि थप आर्थिक भार पर्ने भएको छ। उपलब्ध विवरणअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
यसअघि पनि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढाव र मुलुकभित्रको आपूर्ति अवस्थालाई ध्यानमा राख्दै निगमले मूल्य समायोजन गर्दै आएको छ। अहिले भने चाडपर्वको समयमा उपभोक्तामाथि थप मूल्यभार नपरोस् भन्ने आधारमा साविककै दर कायम गरिएको निगमको निर्णयबाट देखिन्छ।
यससँगै तत्कालका लागि उपभोक्ताले पेट्रोल र डिजेलमा थप मूल्यवृद्धिको सामना गर्नुपर्ने छैन भने निगमले बढेको खरिद लागत आफैंले व्यवस्थापन गर्नुपर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।