काठमाडौं – नेपाल प्रिमियर लिगमा प्ले अफमा पुग्ने दोस्रो टिम सुदूरपश्चिम रोयल्स बनेको छ । आजको खेलमा काठमान्डू गोर्खाजलाई ७ रनको सनसनीपूर्ण जित निकाल्दै सुदूरपश्चिम प्ले अफमा पुगेका हो ।
टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा मात्र ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । १२६ रनको झिनो लक्ष्य पछ्याएको काठमान्डू गोर्खाज २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रनमै समेटियो ।
काठमान्डूका लागि रासिद खानले ३१ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३५ रन बनाए । दुसन हेमन्थाले २१ रन बनाउँदा स्याम हेजलेटले ११ र सन्तोष यादवले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरको जितमा अनिल खरेलले २ विकेट लिँदा स्कट कुग्लेइन, हेमन्त धामी र फाबियन एलेनले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हिर्काए । यस्तै थरिन्दु रत्नायकेले अविजित २६ रन बनाउँदा आरिफ शेखले १६ रनको योगदान दिए । काठमान्डूका लागि जहान्द्द खानले सर्वाधिक तीन विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे ।
यो जितसँगै सदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रोमा रहेको लुम्बिनीको ९ अंक छ भने काठमान्डू गोर्खाजको ८ अंक रहेको छ । यस्तै एक खेल खेल्न बाँकी विराटनगरको ६ अंक रहँदा चितवन राइनोजको ५ अंक रहेको छ । जनकपुर र कर्णालीको ४/४ अंक रहेको छ भने पोखरा एभेन्जर्स २ अंकका साथ अन्तिम स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।