काठमाडौं– गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा तथा काज हेरफेर गरेको छ ।
मन्त्रालयले जारी गरेको निर्णय अनुसार देशभरका विभिन्न निकायमा कार्यरत १०० जना कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिँदै काज सरुवा गरिएको हो ।
असोज १२ गतेको प्रशासनिक निर्णय अनुसार गरिएको यस सरुवामा मुख्य गरी नायब सुब्बा तथा सो सरहका कर्मचारीहरू समेटिएका छन् ।
यस पटकको सरुवाको प्रशासनिक ढाँचा हेर्दा अधिकांश कर्मचारीहरूलाई उनीहरू कार्यरत रहेकै जिल्लाभित्रका फरक–फरक कार्यालयहरूमा हेरफेर गरिएको धेरैको आँकलन छ ।
विशेष गरी जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय, इलाका प्रशासन कार्यालय र अध्यागमन कार्यालयहरूमा कार्यरत जनशक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरिएको छ ।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने र दैनिक सेवा प्रवाह हुने संवेदनशील कार्यालयहरूमा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई हेरफेर गरेर प्रशासनिक कामकारबाहीलाई थप चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय लिइएको मन्त्रालय स्रोतले जनाएको छ ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।