काठमाडौं– लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासत कक्षबाट फरार भएका एक जनासहित अदालतबाट सजाय तोकिएका दुई जना रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १३ गते सिरहाको मिर्चैया नगरपालिका–५ बाट २५ वर्षीय किसन शाहलाई पक्राउ गरेको हो। मिर्चैया नगरपालिका–६ स्थायी ठेगाना भएका शाह लागूऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बेला जेन–जी आन्दोलनका क्रममा हिरासत कक्षबाट फरार भएका थिए।
पक्राउपछि शाहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालबाट २८ वर्षीय बिक्रम सिंह नायकलाई पक्राउ गरेको छ। नायकलाई कञ्चनपुर जिल्ला अदालतले लागूऔषध खैरो हेरोइन मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो। उनलाई २०८३ असोज १२ गते पक्राउ गरी अदालतमार्फत जिल्ला कारागार कञ्चनपुर पठाइएको छ।
यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का २३ वर्षीय अर्जुन बादी पनि पक्राउ परेका छन्। जिल्ला अदालत सुर्खेतबाट लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएका बादीलाई असोज १४ गते पक्राउ गरी जिल्ला कारागार सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।