कञ्चनपुर - भीमदत्त नगरपालिकामा झैझगडामा संलग्न दुवै पक्षका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा प्रहरी कार्यालय महेन्द्रनगरको परिसरबाहिर भएको झैझगडासम्बन्धी घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
सोमबार सामाजिक सञ्जालमा प्रसारित भिडियोका सम्बन्धमा प्राप्त निवेदनमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले दुवै पक्षका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कात्तिक २६ गते भीमदत्त नगरपालिका–५ निवासी रोशन लुहारलाई सोही ठाउँका राजेश लुहार र वडा नम्बर १७ निवासी विशाल कोलीले हातपात तथा झैझगडा गरेको विषयमा निवेदन परेको थियो।
उक्त विषयमा छलफल गर्न सोमबार अपराह्न ४:१० बजे दुवै पक्षका व्यक्तिहरू वडा प्रहरी कार्यालय महेन्द्रनगर पुगेका थिए। छलफलका लागि आउने क्रममा कार्यालयको गेट अगाडि नै उनीहरूबीच पुनः विवाद र झैझगडा भएको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २५ वर्षीय विशाल कोली, २६ वर्षीय रोहित लुहार, २२ वर्षीय रोशन लुहार र २७ वर्षीया निशा लुहार रहेका छन्।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।