काठमाडौं– प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ब्राउनसुगर, खैरो हेरोइन र चरेसजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बर्दिया, कञ्चनपुर, बाँके, मकवानपुर, दाङ र इलामबाट उनीहरू पक्राउ परेका हुन्।
बर्दियाको मधुवन नगरपालिका–७ ताराताल शुक्रबस्तीबाट १ ग्राम ९२० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २० वर्षीय आयुश बाठा पक्राउ परेका छन्। त्यस्तै, बाँसगढी नगरपालिका–६ मोतिपुरबाट ७९० मिलिग्राम उक्त पदार्थसहित २८ वर्षीय प्रकाश थारू र २६ वर्षीय प्रताप थारू पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट ३ ग्राम ३५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का २२ वर्षीय बिरेन्द्रबहादुर ऐर र २५ वर्षीय रामबहादुर चन्द छन्।
यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–११ नयाँ बसपार्कबाट १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ घर भएका ५७ वर्षीय अबिलाल जैसीसमेत छन्।
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। गोरखाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिप जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिप चालक ३३ वर्षीय हेविन श्रेष्ठ र जिपमा सवार २१ वर्षीया दिव्याश्री काफ्ले छन्। श्रेष्ठ काभ्रेको बनेपा नगरपालिका–८ तिनदोबाटोमा बस्ने र काफ्ले चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बस्ने प्रहरीले जनाएको छ।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–६ बाट ३८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र ११ हजार ७५० रुपैयाँ नगदसहित ३२ वर्षीय सुनु विक पक्राउ परेका छन्।
इलाम नगरपालिका–९ बाट ६ ग्राम ३०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। झापाबाट इलामतर्फ आउँदै गरेको मे.९ प २१९० नम्बरको मोटरसाइकलमा सवार २४ वर्षीय रविन लिम्बुसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।