काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा दुई देशबीच लामो समयदेखि छलफलमा रहेका विभिन्न विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा नेपालले भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउन गर्दै आएको आग्रहलाई प्रमुखताका साथ उठाउने तयारी छ। हवाई रुटसम्बन्धी विषयमा सहमति जुटाउन सके नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र उड्डयन क्षेत्रलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर ६ गते नयाँदिल्ली पुग्नेछ। भ्रमणका औपचारिक कार्यक्रम पूरा गरी प्रतिनिधिमण्डल मंसिर ७ गते नेपाल फर्कनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भ्रमणबारे जानकार एक अधिकारीका अनुसार दुवै प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि करिब आधा घण्टा छुट्टै एक्लाएक्लै छलफल हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यक्रम छ।
नेपाल र भारतबीच हवाई सम्पर्क, व्यापार, पारवहन, ऊर्जा तथा पूर्वाधारलगायतका विषयमा विभिन्न तहमा छलफल हुँदै आएको छ। प्रधानमन्त्री शाहको भ्रमणलाई यी विषयमा समझदारी अघि बढाउने अवसरका रूपमा हेरिएको छ।
यसअघि नेपालका प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले सन् २०१६ र २०१८ मा भारतको दुईपटक राजकीय भ्रमण गरेका थिए। त्यसैगरी पुष्पकमल दाहालले सन् २०१६ र शेरबहादुर देउवाले सन् २०१७ मा भारतको राजकीय भ्रमण गरेका थिए।
प्रधानमन्त्री शाहको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ राजनीतिक नेतृत्वको तहबाट अघि बढाउने र द्विपक्षीय सहकार्यका विषयमा ठोस प्रगति गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।