नेपालगञ्ज- आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल प्रहरी अन्तर्गत म्यादी प्रहरीमा भर्ना हुन बाँकेमा युवाहरुको भिड लागेको छ।
निर्वाचनको चहलपहल सुरु भएसँगै बेरोजगार युवाहरुले म्यादी पुलिस बन्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा आवेदन दर्ता गराइरहेका छन्। पछिल्ला दिनहरुमा दैनिक एक हजारभन्दा बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
करिब तीन महिना काम गरेबापत करिब ४० हजार रुपैया तलबसुविधा पाउने भएकाले भर्ना हुन चाहेको बाँके कसुमका बलबहादुर डाँगीले बताए। म्यादीमा काम गरेबापत प्रमाणपत्र पाइने र पछि नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनामा भर्ना हुन सहज हुने भएकाले पनि भर्नाका लागि आएको उनीजस्ता युवा बताउँछन्।
यसपालि देशभरबाट ९८ हजार २६८ जना म्यादी प्रहरी माग गरिएको छ। म्यादी प्रहरीले निर्वाचनका बेला करिब ५५ दिन काम गर्ने अवसर पाउनेछन्। निर्वाचनको सात दिनका लागि भने प्रतिदिन २५० रुपैयाँका दरले विशेषभत्ता र २५० रुपैयाँ नै खाजा खर्च पनि उपलब्ध गराइनेछ। ४ हजार पोसाक भत्ता र बाटो खर्चस्वरुप एक हजार रुपैयाँ पनि म्यादी प्रहरीले पाउनेछन्।
म्यादीका लागि ३ हजार ७ सय ३६ जनाले आवेदन दिएको भए पनि बाँकेका लागि १ हजार ५ सय भर्ना गरिने प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।