काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्नुअघि वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्ने भएका छन् ।
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति भवनमा भएको भेटमा पौडेलले अध्यादेशका विषयमा कानुनविद्हरूसँग छलफल गर्ने बताएका हुन् ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेको थियो ।
भेटमा महासंघले अध्यादेशमा समावेश गरिएका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो ।
जवाफमा राष्ट्रपति पौडेलले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै अध्यादेशका प्रावधानबारे वरिष्ठ अधिवक्ताहरूसँग परामर्श लिने प्रतिबद्धता जनाएको महासंघ अध्यक्ष शर्माले नेपाल लाइभलाई जानकारी दिइन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।