भक्तपुर – मध्यपुरथिमि नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालक गीता तिमल्सिनाको मृत्यु भएको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की स्थायी घर भएकी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा बस्दै आएकी ५१ वर्षीया तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ७ः३० बजे आँखा अस्पतालतर्फबाट बाटो काटेर लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किदाँ तिमल्सिना घाइते भएकी थिएन् । उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको २० मिनेटपछि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तिमल्सिना काठमाडौंको शङ्खरापुर नगरपालिकाको पशु सेवा शाखाकी कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि दिउँसो १२ बजे दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।