काठमाडौं– नेपाल प्रहरीको नेतृत्व फेरेको भोलिपल्टै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे बिहीबार ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्’ सचिवालयले भनेको छ ।
साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उहाँले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।