एजेन्सी - रिलाइन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई सबैभन्दा धनी भारतीय भएको फोब्र्स इन्डिया वेबसाइटले जनाएको छ ।
वेबसाइटले जारी गरेको भारतका सर्वाधिक धनी सय जनाको सूचीको पहिलो नम्बरमा अम्बानीको नाम छ ।
फोब्र्स इन्डियाले जारी गरेको सबैभन्दा धनी सय जना भारतीयको सूचीको पहिलो स्थानमा मुकेश अम्बानी र दोस्रो नम्बरमा छन्– विप्रोका अजिम प्रेमजी ।
मुकेशको कुल सम्पत्ति अहिले ३८ खर्ब अमेरिकी डलर पुगेको छ । दोस्रो नम्बरका धनी विप्रोका मालिक अजिमको सम्पत्ति मुकेशको भन्दा ठ्याक्कै आधा अर्थात् १९ खर्ब अमेरिकी डलर रहेको पनि वेबसाइटले जनाएको छ ।
तेस्रो नम्बरमा अशोक लेल्यान्डका हिन्दुजा बन्धु, चौथो नम्बरमा आर्सेलर मित्तलका लक्ष्मी मित्तल र पाँचौं नम्बरमा सपुरजी पैलनजी समूहका पैलनजी मिस्त्री छन् । हिन्दुजाको १८.४ खर्ब, मित्तलको साढे १६ खर्ब र पैलनजीको १६ खर्ब अमेरिकी डलर सम्पत्ति छ ।
सूचीको छैटौं नम्बरमा फर्निचरलगायत विभिन्न उत्पादन गर्ने गोदरेज समूह छ । सातौं नम्बरमा कम्प्युटर सफ्टवेयर बनाउने कम्पनीका मालिक शिव नाडर छन् भने औषधी उत्पादक दिलिप संघभी सूचीको नवौं नम्बरमा छन् ।
सर्वाधिक भारतीय धनीको सूचीको आठौं नम्बरमा कुमार बिडल छन् । कम्पनी भोडाफोन इन्डियामा विलय भए पनि यस वर्ष धेरै नाफा कमाउनेमा आइडिया सेल्युलरका मालिक कुमार बिडला पनि भएको वेबसाइटले उल्लेख गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्धका कारण चर्चित उद्योगपति गौतम अडानी सूचीको १० औं नम्बरमा छन् ।
मुकेशका भाइ तथा रिलायन्स कम्युनिकेसन्सका मालिक अनिल अम्बानी सूचीको ४५औं नम्बरमा छन् ।
फोब्र्स इन्डियाको सूचीमा पतन्जली आयुर्वेदका आचार्य बालकृष्ण १९ औं नम्बरमा छन् । ४५ बर्से बालकृष्ण भारतका २० जना सर्वाधिक धनीको सूचीमा सबैभन्दा कान्छा हुन् । उनको संपत्ति ६ खर्ब ५५ अर्ब अमेरिकी डलर बराबर छ । सयजना सर्वाधिक धनी युवा भारतीय उद्योगपतिमध्ये उनी चौथो नम्बरका युवा उद्योगपति हुन् ।
सर्वाधिक धनीको सूचीमा बिपिएर हेल्थकेयरका ४० बर्से समसिर वायालिल सबैभन्दा युवा उद्योगपति हुन् । केरलमा जन्मेका समसिरले साउदी अरेबियाको राजधानी अबुधाबीबाट रेडियोलजिस्टका रुपमा आफ्नो करियर थालेका थिए । अहिले उनको कम्पनी बिपिएस हेल्थकेयरले युनाइटेड अरब इमिरेट्स, युरोप, ओमन र भारतमा सेवा विस्तार गरेको छ ।
सयजना सर्वाधिक धनीमध्ये दोस्रो युवा धनी भारतीय हुन् इन्डियाबुल्स समूहका मालिक समिर गहलोत । उनी ४३ वर्षका छन् ।
समिरपछि मनिपाल समूहका मालिक रन्जन पई ४४ वर्षका छन् । चौथो युवा आचार्य बालकृष्ण र पाँचौं युवा धनीमा फायरस्टार डाइमन्डका मालिक निरव मोदी छन् ।
सर्वाधिक धनी भारतीयको सूचीमा एल्केम लेबोरेट्रीजका मालिक सम्प्रदा सिंह सबैभन्दा बढी उमेरका उद्योगपति हुन् । ९१ वर्षका उनी भारतका ४३ औं नम्बरका धनी हुन् ।
सबैभन्दा धनी भारतीय मुकेश अम्बानीबारे फोब्र्स इन्डिया वेबसाइटले आफ्नो सम्पत्तिमा १५ खर्ब ३ अर्ब अमेरिकी डलर वृद्धि गरेर धनी भारतीयको सूचीमा पहिलो नम्बरमा यथावत रहेको उल्लेख गरेको छ । तेल र ग्यास टाइकुन मुकेशभन्दा धेरै कसैलाई पनि फाइदा नभएको वेबसाइटले जनाएको छ ।
फोब्र्स इन्डियाका अनुसार मुकेश अब एसियाका सर्वाधिक धनी पाँच जनामा समावेश भएका छन् । यसो हुनुको कारण वेबसाइटले जियोलाई मानेको छ ।
वेबसाइटले लेखेको छ– सेयर बजारमा मुकेश अम्बानीको रिलाइन्स इन्डस्ट्रिजका सेयर जियोका प्रभावले गतिलो मार्जिनले बढेका छन् ।
सर्वाधिक धनी सय जना भारतीयको गत वर्षको सूचीमा भएका २७ जना यस वर्षको सूचीमा पनि रहेको र उनीहरूको सम्पत्ति यस वर्ष एक खर्ब अमेरिकी डलर वा त्यसभन्दा बढी वृद्धि भएको पनि वेबसाइटले जनाएको छ ।
सर्वाधिक धनी भारतीयको सूची गएको सेप्टेम्बर १५ सम्मको सेयर मूल्य र विनिमय दरका आधारमा तयार पारिएको हो ।
फोब्र्स इन्डिया म्यागजिनले भारतका सर्वाधिक धनी सय जनाको सूची जारी गर्दै भारतीय अर्थतन्त्रमाथि पनि टिप्पणी गरेको छ ।
फोब्र्सले भारतीय अर्थतन्त्र सुस्त भए पनि त्यहाँका धनाढ्यहरू अझै धनी हुँदै गएको र सय जना सर्वाधिक धनीहरूको साझा सम्पत्तिमा करिब २५ प्रतिशत वृद्धि भएको उल्लेख गरेको छ ।
वेबसाइटले समाचारको शीर्षक नै ‘मन्द हुँदै गएको अर्थव्यवस्थाका वावजुद अझै धनी भए भारतका धनाढ्य’ राखेको छ ।
फोब्र्स इन्डियाले धनीको सूची जारी गर्दै भारतको अर्थतन्त्रमा आएको मन्दीलाई नोटबन्दी र जिएसटी (जनरल सेल्स ट्याक्स प्रणाली)को अनिश्चिततासँग गाँसेको छ ।
वेबसाइटमा उल्लेख छ– गत नोभेम्बरमा गरिएको नोटबन्दी र देशभर लागू गरिएको जिएसटीबारे अन्योलको स्थितिका कारण जुनमा सकिएको त्रैमासिक भारतीय अर्थतन्त्र खस्केर ३ वर्षयता सबैभन्दा तल ५.७ प्रतिशतमा झर्यो ।
वेबसाइट अगाडि लेख्छ– तर यस्तो स्थितिबाट पनि अप्रभावित हुँदै भारतीय सेयर बजारले नयाँ उचाइमात्र हासिल गरेन, भारतका सबैभन्दा धनी सयजनाको भाग्य अझै चम्कायो । यस वर्ष उनीहरूको साझा सम्पत्ति पहिलेभन्दा २५ प्रतिशत बढेर ४ सय ७९ खर्ब अमेरिकी डलरसम्म पुगेको छ ।
फोब्र्स इन्डिया विख्यात अमेरिकी म्यागाजिन फोब्र्सको भारतीय संस्करण हो । फोब्र्स इन्डियाको स्वामित्व मुकेश अम्बानीको कम्पनी रिलायन्ससँग छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।