काठमाडौं– हिँड्दा पनि कुप्रो परेर हिँड्ने ८३ वर्षकी वृद्ध कान्छी माया श्रेष्ठको घरैमा बसेर नातिनातिना खेलाउने उमेर होे । रहर त लाग्छ, तर सबैलाई यस्तो सुख कहाँ मिल्छ र?
जीवनको उत्तरार्धमा दुःख गरी जीवन बाँच्नेहरु धेरै छन् हाम्रो समाजमा । तिनै मध्येकी एक हुन्, कान्छी माया। यी वृद्ध आमालाई न्यूरोडको सडक छेउमा बसेर नाङ्ग्लोमा कागती बेचिरहेको भेटिन्छ।
२०१० सालमा बिहे गरेको बताउने उनले १० जना छोराछोरी जन्माइन्, तर ४ छोरी र १ छोरा मात्र बाँचे। काठमाडौंको टेवाहलमा छोराबुहारीसँगै बस्छिन् उनी।
तर, उनको दैनिकी बिहान ४ बजेदेखि नै सुरु हुन्छ। भन्छिन्, ‘बिहान ४–५ बजे उठ्छु। पूजा गर्छु त्यसपछि काममा लाग्छु।’
५–७ केजी कागती कोखीलामा बोकेर उनी बिहानै न्युरोड पुग्छिन् । ‘छोराको सानो होटल छ। उसको कमाइले मात्र पुग्दैन। त्यसका छोराछोरी पढाउनुपर्यो। त्यसैले मैले पनि काम गर्दा छोरालाई घर चलाउन सजिलो हुन्छ,’ यसो भन्दै गर्दा उनको चाउरी परेको मुहारमा निराशा र मातृत्वको समिश्रण हेर्न सकिन्थ्यो। उनले थपिन्, ‘म पनि दिनभरि घर बस्दा समय बिताउन पनि गाह्रो हुन्छ, काम गरेपछि समय नि कट्छ, एसो दुई–चार सय खर्च पनि निस्किन्छ ।’
कान्छीमायाका अनुसार उनको दैनिक आम्दानी ४–५ सय रुपैयाँसम्म हुन्छ । भनिन्, ‘त्यो पैसा आफूलाई अलेली खर्च राखेर साँझमा छोरालाई दिन्छु।’ पहिले उनले खुद्रा व्यापार पनि गरिन्। अहिले उनको कागतीको व्यापार पनि राम्रै चलेको छ।
सडक छेउमा कागती राखेर बेच्दा नगर प्रहरीले लखेट्ला नि आमा भन्ने प्रश्नमा उनले भनिन्, ‘म बुढीलाई प्रहरीले लखेटेर के गरोस्, म भाग्न सक्दिन। प्रहरीले अहिलेसम्म मलाई काम गर्न दिएकै छ।’
टेवाहलमा डेरामा बस्ने उनी विगत सम्झिँदै भन्छिन्, ‘पहिला त हाम्रो पनि थुप्रै खेत थियो। खेती गरेरै खान पुग्थ्यो। तर, ससुराले सबै जग्गा बेचिदिए। एउटा माटाको घर पनि भुकम्पले भत्काइदियो। अहिले त डेराको बास छ।’
भक्तपुरको ठिमीमा जन्मिएकी कान्छीमायाको आठ दशकको जीवनले राजधानीका हरेक उतारचढाव देखेको छ। आफू राजनीतिक आन्दोलनहरुमा सामेल नभए पनि, राजनीतिका खबरहरु उनका कानमा कसरी–कसरी परिहाल्थे । तर उनको एउटै गुनासो छ, ‘देशमा के के आयो भन्छन्, हामीलाई दुःख उस्तै छ।’
न्युरोड वरिपरि दशकौं साल बिताएकी कान्छीमायाले त्यहाँको अँध्यारो–उज्यालो सबै देखेकी छिन्। हेर्दाहेर्दै न्युरोड कस्तोबाट कस्तो भयो त्यसको साक्षी हुन् उनी । ‘करिब २५–३० वर्ष अघिसम्म पनि काठमाडौंमा खेतैखेत थियो। ठूला–ठूला फाँटहरु थिएँ,’ अहिले ठेलमठेल काठमाडौं देखेर आजित मान्ने कान्छीमाया भन्छिन्, ‘पहिला त काठमाडौंमा एक्लै हिँड्न पनि डर लाग्ने। घर त कहीँ–कहीँ मात्र। अहिले त खुट्टा राख्ने ठाउँ पनि छैन। देशभरका सबै मान्छे काठमाडौंमै ओइरिएका होलान्।’
आफ्ना पुराना दिन सम्झँदै सुनाउँदा उनको मुहार कतै हराएजस्तो देखिन्थ्यो। छोटो कुराकानीमा उनले आफ्ना पहिलाका दिनहरु सम्झिइन्, साथीसंगी सम्झिइन्। ‘पहिले रमाइलो थियो। साथीसंगीसँग रमाइलो गरिन्थ्यो। अब त, बुढेशकालले छोप्यो, साथीसंगी पनि को–को छन्, को–को बितिसके पत्तो छैन।’
पहिले–पहिले हिँडेर ठिमीमा माइत जाने उनी अचेल गाडी घरै अगाडि पुग्दा पनि त्यता खासै जाँदिनन्। भन्छिन्, ‘अब आफूलाई माया गर्ने मान्छे सबै परलोक भइसके। नयाँ केटाकेटीले चिन्न पनि मान्दैनन्। कतिले त चिन्दैनन्।’
कान्छीमायाको एउटै इच्छा छ, आफ्नै घरमा बस्ने र काम गर्दा गर्दै भगवानको प्यारो हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।