काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध रेट नोटिस जारी भएको छ।
ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपाली विरुद्ध रेड नोटिस जारी भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीम ढकालले नेपाल लाइभलाई जानकारी दिए।
रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गर्नेछन्। उनी भेटिएको अवस्थामा इन्टरपोलले पक्राउ गरेर नेपाल फिर्ता पठाउने गर्छ।
बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ। नेपाली नेकपा एमालेबाट २ पटक मेयरमा निर्वाचित भएका व्यक्ति हुन्। उनी संस्थापक अध्यक्ष रहेको सहकारीले करोडौं रुपैयाँ ठगी गरेको पाइएको छ। यो सहकारीको बागलुङ बजारमा मुख्य कार्यालय रहेको छ।
नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाही प्रहरीको खोजी सूचीमा थिए।
उनीहरुमध्ये कोषाध्यक्ष लक्ष्मीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार ललितपुरको धोबिघाटबाट पक्राउ गरेको थियो। पक्राउ पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
सरिता तिमल्सेना (कँडेल)सहितको जाहेरीको आधारमा उक्त सहकारीका नेपाली समेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो।
गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि उनीहरु सबै जना फरार छन्। लक्ष्मी भने अहिले पक्राउ परे पनि बाँकी ७ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
यसअघि उनीहरुले विदेश जान रोक लगाउँदै अध्यागमनको कालो सूचीमा समेत राखिएको थियो। तर उनीहरु भारतबाट अन्य देश पुगेको हुनसक्ने आशंका गरिएको छ।
मेयर नेपालीले बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
सम्बन्धित समाचार
ठगीमा फरार रहेका ढोरपाटनका मेयरलाई अध्यागमनले राख्यो कालोसूचीमा, विदेश जान प्रतिबन्ध
सहकारी डुबाएपछि फरार ढोरपाटनका मेयर नेपालीको विज्ञप्ति- १८ घर र ४४ कित्ता जग्गाको विवरण सार्वजनिक
इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।