काठमाडौं- बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले फेसबुकमार्फत आफू सहकारीको समस्या समाधान गर्न तयार रहेको बताएका छन्। सहकारी समस्यामा परेपछि भागेर विदेश पुगेको भनिएका मेयर नेपालीले आफ्नो जीउ-धनमाथि असुरक्षा उत्पन्न भएपछि सम्पर्कविहीन भएको उल्लेख गरेका छन्।
उनको दाबी छ, 'केही साथीहरु मेरो घरमा हतियार सहित आएर म लगायत मेरो श्रीमती र मेरो सानो छोरीलाई मार्ने धम्की समेत दिए। ६ लाख बचत भएका ब्यक्तिहरुले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिने भनेर दबाब दिए। त्यसैले केही समयको लागि घर बाहिर बस्न बाध्य भएँ।'
आफू सम्पत्ति भएको व्यक्ति भएको बताउँदै उनले एकैपटक वचत फिर्ता माग्न आउँदा समस्या देखिएको बताएका छन्। उनले १० हजार बचत गर्नेले १० लाख भनेर दाबी गरेको साथै ऋण लिएकाहरुले नलिएको दाबी गरेको हुँदा असहज भएको बताएका छन्।
उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बेचेर भए पनि समाधान गर्ने उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।