फाइल तस्बिर
काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारलाई कल्याणकारी सुविधा उपलब्ध गराउने, योगदानको सम्मान गर्ने र संस्थासँगको सम्बन्ध कायम राख्ने उद्देश्यले भूतपूर्व सैनिक सम्मेलन–२०८३ आयोजना गर्ने भएको छ।
सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्मान प्रदान गरिने नेपाली सेनाले जनाएको छ।
सम्मेलनमा पि–क्याप, महिलाका लागि मफलर वा स्कार्फ, झोला र हरियो मण्डी वितरण गरिनेछ। विभिन्न कर्जा प्राप्त गरेका ऋणीलाई चेक हस्तान्तरण गर्नुका साथै उत्कृष्ट तथा सर्वोत्कृष्ट लघु उद्यम व्यवसायीलाई पुरस्कार दिइनेछ। ज्येष्ठ भूतपूर्व सैनिक र ज्येष्ठ एकल महिलालाई सम्मान गर्ने कार्यक्रमसमेत छ।
नेपाली सेनामा चार जना वा सोभन्दा बढी सन्तानलाई सेवा गर्न प्रेरित गरेका अभिभावकमध्ये जीवित आमा वा बाबुमध्ये एक जनालाई कदरपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। यो सुविधा विगतमा सम्मान प्राप्त नगरेकाका लागि मात्र लागू हुनेछ।
त्यस्तै, डाक्टर अधिकृतको सिफारिस र आवश्यकताका आधारमा अशक्त भूतपूर्व तथा बहालवाला सैनिकका आश्रितलाई ह्विलचेयर र बैसाखी वितरण गरिनेछ।
सम्मेलन पूर्वी पृतना, मध्य पृतना र उपत्यका पृतना अन्तर्गतका २४ जिल्लाका हिताधिकारीलाई लक्षित गरी सञ्चालन हुनेछ। पूर्वी पृतनाको सम्मेलन मंसिर १४ गते सुनसरी, मध्य पृतनाको मंसिर १७ गते चितवन र उपत्यका पृतनाको मंसिर २५ गते काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा हुनेछ।
सहभागी हुन इच्छुकले नेपाली सेनाको कल्याणकारी बोर्डको वेबसाइट nawb.nepalarmy.mil.np मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। दर्ताका लागि पेन्सन पट्टा, नागरिकता र पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ। सम्बन्धित सम्मेलन केन्द्रमा उपस्थित भएर कर्मचारीको सहयोगमा पनि दर्ता गर्न सकिनेछ।
सेनाका अनुसार पेन्सन पट्टावाला स्वयं उपस्थित हुनुपर्नेछ। शारीरिक अस्वस्थताका कारण उपस्थित हुन नसक्ने व्यक्तिको हकमा प्रमाण पेस गरेपछि उनकी श्रीमतीले सहभागिता जनाउन सक्ने व्यवस्था छ।
सम्मेलनको उद्देश्य सुविधा वितरणमा मात्र सीमित नभई अवकाशप्राप्त सैनिकको योगदानको कदर गर्नु र उनीहरूको कल्याणकारी आवश्यकतालाई सम्बोधन गर्नु पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।