काठमाडौं– भारतको मुम्बईमा देशकै सबैभन्दा लामो समुद्री पुल बनेको छ। ‘अटल बिहारी वाजपेयी सेवारी–न्हावा शेवा अटल सेतु’ (अटल सेतु) नाम दिइएको उक्त पुलको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उद्घाटन गरेका छन्।
यो पुलको शिलान्यास पनि प्रधानमन्त्री मोदीले नै सन् २०१६ मा गरेका थिए। १७ हजार ८४० करोड भारतीय रुपैयाँभन्दा बढीको लागतमा अटल सेतुको निर्माण गरिएको हो। करिब २१.८ किलोमिटर लम्बाइ भएको यो पुल ६ लेनको छ। यो पुल समुद्रमाथि करिब १६.५ किलोमिटर र जमिनमाथि करिब ५.५ किलोमिटर छ।
यो भारतको सबैभन्दा लामो पुल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। यो पुलले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल र नयाँ मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलका लागि कनेक्टिभिटीको काम गर्ने बताइएको छ। यो पुलले मुम्बईबाट पुणे, गोवा र दक्षिण भारतको यात्रामा लाग्ने समय र दूरीलाई पनि घटाउनेछ।
यो पुलले मुम्बई बंदरगाह र जवाहरलाल नेहरु बंदरगाहबीचको कनेक्टिभिटीलाई पनि सुधार गर्ने छ। प्रधानमन्त्री मोदीले उद्घाटन गरेपछि शुक्रबारदेखि नै पुल सर्वसाधारणको आवागमनका लागि खुला गरिएको छ।
यो पुल १०० वर्षसम्म चल्नसक्ने गरी बनाइएको पुल निर्माणमा संलग्न प्राविधिकहरुले दाबी गरेका छन्। यो पुलमा प्रतिदिन ७० हजार वहान चल्ने बताइएको छ। यद्यपि यो पुलमा उच्च लोड बोकेका साधन, मोटरसाइकल, अटो रिक्सा र ट्र्याक्टर चलाउन पाइने छैन।
यो पुलमा सन् २०१८ देखि लगातार निर्माण कार्य सुरु गरिएको थियो। यो पुल निर्माणका लागि प्राविधिक तथा मजदुर गरी ५ हजार ४०३ जनाले नियमित काम गरेका थिए। पुल निर्माणका क्रममा ७ मजदुरको ज्यान समेत गयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।