टोकियो– अंग्रेजी नयाँ वर्षको दिन जापानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ। २ हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन्। भूकम्पमा परेका अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ।
मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केका थिए भने कतिपय ठाउँमा आगलागी समेत भएको थियो। भूकम्पपछि १ मिटरभन्दा अग्लो सुनामीको छाल आएको थियो। भूकम्पबाट भत्किएका संरचनामा च्यापिएर तथा आगलागी र सुनामीबाट सिर्जित दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको अधिकारीहरुले बताएका छन्।
सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ। अनुमानित १ हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन्।
पछिल्लो २ दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर १० सेन्टिमिटर (चार इन्च) भन्दा बढी पानी परेको छ।
सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० बर्षभन्दा बढी उमेरकी एक महिलालाई ५ दिनपछि शनिबार जीबितै उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।