ढाका– बंगलादेशमा आम निर्वाचनअन्तर्गत आज (आइतबार) मतदान भइरहेको छ। देशको नेशनल एसेम्बलीका लागि ३०० क्षेत्रमध्ये आइतबार २९९ क्षेत्रमा मतदान भइरहेको छ। १ जना उम्मेदवारको मृत्युका कारण नौगाउँ–२ क्षेत्रको मतदान स्थगित भएको छ।
प्रधानमन्त्री शेख हसिना नेतृत्वको सत्तारुढ आवामी लिग पार्टीले चौथोपटक जित दर्ता गर्ने सम्भावना छ। अर्कोतर्फ देशको मुख्य विपक्षी दल बंगलादेश नेशलिस्ट पार्टी (बीएनपी) र उसको विचारधारासँग सहमति राख्ने अन्य दलहरुले निर्वाचन बहिस्कार गरेका छन्।
विपक्षी दलहरुले चुनावको दिन हड्तालका लागि अपिल गरेका छन्। बीएनपीका समर्थकहरुले आइतबार बिहानैदेखि केही ठाउँमा हड्ताल गरेका पनि छन्।
प्रधानमन्त्री शेख हसिनाले केही समय अगाडि ढाकाको सिटी कलेज मतदान केन्द्रमा गएर मतदान गरेकी छन्। उनी गोपालगन्ज–३ बाट चुनावी मैदानमा छन्।
आफूले मतदान गरेपछि प्रधानमन्त्री शेख हसिनाले सबै मतदातालाई मतदान केन्द्रमा गएर मतदान गर्न अपिल गरेकी छन्।
मुख्य विपक्षी दल बीएनपीले चुनाव बहिस्कार गरेको विषयबारे प्रधानमन्त्री हसिनाले पत्रकारहरुसँग भनिन्, ‘म कसलाई आफ्नो स्वीकार्यता साबित गरुँ, आतंकवादी संगठनलाई? यो आवश्यक छैन। म जनताको अगाडि यसलाई साबित गर्न चाहन्छु। हेरौं जनताले यसलाई स्वीकार गर्छन् या गर्दैनन्।’
यसपटक मतदाताको कुल संख्या ११ करोड ९३ लाख छ। यसपटकको चुनावमा २७ राजनीतिक दलका कुल १ हजार ९६९ उम्मेदवार चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।