काठमाडौं– नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर बिहीबार नै काठमाडौं आएका छन्।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो। यद्यपि कोभिड महामारीका कारण पछिल्लो २ वर्षमा संयुक्त आयोगको बैठक हुन सकेको थिएन। पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो।
बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध आयामबारे समीक्षाका साथै छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपालले व्यापार असन्तुलन कम गर्ने, आयात–निर्यातको सन्तुलन कायम गर्ने तथा उर्जा व्यापारको विषयलाई महत्त्व दिएर अजेन्डामा समावेश गरेको छ।
बैठकअघि नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सिंहदरबारमा हस्ताक्षर भएको सम्झौताको विवरण नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि सार्वजनिक गरिने छ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले बिहीबार भएको हस्ताक्षरसँगै सार्थकता पाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गरेको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।