काठमाडौं– पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालनमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको सवा करोड घुस लिएको प्रकरणमा उपसचिवसहित ६ जना जेल चलान भएका छन्।
संस्थाका सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीहरुमध्ये हालसम्म ६ जना पक्राउ गरी अदालतमा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
कारागार चलान हुनेहरुमा स्याङजा वालिङ नगरपालिका–११ धनपुरे घर भइ हाल पर्वतको कुश्मा नगरपालिकाको कार्यालयमा कार्यरत उपसचिव ५२ वर्षीय उदयबहादुर पराजुली, नुवाकोटको तारकेश्वर गाउँपालिका–१ का ३५ वर्षीय गोपाल खनाल, पोखरा–१७ विरौटाका ४२ वर्षीय बुद्धिसागर पौडेल र पोखरा–६ का ३९ वर्षीय राजु बराल रहेका छन्।
यस्तै उक्त सहकारीका अध्यक्ष तथा सञ्चालक ३२ वर्षीय रमन पौडेल[उनी बैंकिङ कसुर मुद्दामासमेत कारागारमै रहेको] र पोखराको खोरपाखा घर भइ सहकारी संस्थाका कार्यकारी अधिकृतसमेत रहेका २८ वर्षीय किरण अधिकारी रहेका छन्। अधिकारी पनि बैंकिङ कसुर मुद्दाका लागि यसअघि नै पुर्पक्षका लागि कारागारमै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।