काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यद्यपि आज (शनिबार) दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
शनिबार बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका जिल्लामध्ये केही स्थानमा हल्कादेखि मध्यम हुस्स तथा कुहिरो लागेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शनिबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।